Sunday , November 29 2020
sudarshan-paudel-1599530049

सामाजिक दूरी होइन भौतिक दूरी

कोभिडको विश्वव्यापी महामारीको निदानका लागि सुझाइएका तीन नियममध्येको एक हो एक अर्काका बीच (सम्भव भएसम्म दुई मिटरको) भौतिक दूरी कायम गर्ने। तर यस सरल तथ्यलाई विश्वव्यापी रुपमा गलत अर्थ लाग्नेगरी ‘सामाजिक दूरी कायम गरौं’ भनी प्रचारप्रसार गरियो।

यो वाक्यांशलाई विश्व स्वास्थ्य संगठनलगायतका पश्चिमा देशहरुले खुबै उचाले, बाँकी देशहरुले हो मा हो मिलाए। सुरुवाती अवस्थामा काठमाडौंका केही ठूला अस्पतालमा भर्ना भएका कोभिडका बिरामीहरुलाई आइसोलेसन (एकान्तबास)को अवधिमा फोन वा अन्य विद्युतीय सञ्चारबाट टाढा राखिएकाे थियाे।

सामाजिक दूरीको नियमलाई कडाइका साथ पालना गर्न त्यस्तो विधि अपनाएको हुन सक्छ। कोही मानिसहरु सामाजिक संजालले कोभिडको संक्रमण बढाउने तर्क पनि गर्ने गर्थे। सामाजिक दूरीलाई भौतिक दूरीले प्रतिस्थापन गर्नुपर्ने भनी स्वास्थ्य तथा शिक्षा क्षेत्रबाट सुरुदेखि नै आपत्ति जनाउदै आइएको हो। यद्यपि सरकारी सूचना वा सञ्चार माध्यममा आएका सन्देशमा यसैले निरन्तरता पाइरह्यो।

यो अवस्था आउनुका मुख्य कारण विदेशका हरेक चिजलाई सहज रूपले ग्रहण गर्ने प्रवृत्तिका कारण हुन गएको प्रष्ट हुन्छ। भौतिक दूरी र सामाजिक दूरीको बीचकाे खिचातानीले आम मानिसमा अन्याेल सिर्जना गरेका कारण समस्या थप बल्झियो।

त्यसो त भौतिक दूरीले पनि केही मात्रामा सामाजिक दूरी बढाउँछ। तर त्यसो भन्दैमा सामाजिक दूरी र भौतिक दूरी एकै हुन् भन्ने तर्क युक्तिसंगत हुँदैन। सामाजिक रुपमा गाँसिएका व्यक्ति, परिवार र समाजको बीचमा तोकिएको दूरी कायम गर्नुपर्ने भएकाले यो सरल र उचित हुने तर्क गर्नेहरु सुकिला मानिसहरुको कुरालाई साधारण लेखपढदेखि गरिखाने आम मध्यम वर्गले पटक्कै बुझेन।

हुन पनि कसरी बुझोस् युरोप अमेरिकाजस्ता व्यक्तिवादी संस्कृति भएको समाजले आफ्नो परिवेशलाई मध्यनजर गरेर चयन गरेको वाक्यांशलाई बहुलवादी संस्कृति भएको समाजका मानिसले ‘मान कि नमान म तेरो यजमान’ भनेजस्तो उनीहरुका कुरा स्वीकारिदिनु परेको छ।

उनीहरुको परिवेशमा भौतिक दूरी र सामाजिक दूरी समानार्थी हुन सक्ला तर हाम्रो परिवेशमा त्यो कदापी सत्य हुँदैन। हाम्रो समाजले परापूर्वकालदेखि समदूरीको नियम पालना गर्दै आएको हो। हामी परिवार वा घनिष्ट सम्बन्ध बाहेककासँग हात मिलाउने, अंगालो मार्ने, चुम्बन गर्ने गर्दैनथ्यौं। यस्ता गतिविधि हाम्रो समाजमा शैक्षिक वा सांस्कृतिक औपनिवेशले भित्रिएको हो। हामीले आफ्नै परम्परागत शैलीको भौतिक दूरीलाई स्थापित गराउन सकियो भने कोभिड-१९ को लडाइँमात्र होइन पछि आउन सक्ने हैजालगायतका अन्य संक्रामक जनस्वास्थ्य समस्याहरु समाधान गर्न सहज पर्नेछ।

स्वास्थ्य विपत्तिको अवस्थामा भौतिक दूरीको सट्टामा अझ थप प्रभावकारी अर्को कुनै वाक्यांश पो हुन सक्थ्यो कि भन्ने तर्क गर्नुपर्ने हुन सक्छ। अहिलेको समाजमा एउटै सामग्री वा सेवालाई फरक-फरक व्यक्तिले प्रयोग गर्नुपर्ने अवस्थामा भौतिक दूरी भन्ने वाक्यांश बाधक हुन सक्ने देखिन्छ।

कोभिडको डरका कारण मानिसहरु पुस्तकालय जान डराए, अफिसमा कलमदेखि कुर्ची टेबलसमेत व्यक्तिपिच्छे फरक–फरक हुनुपर्ने अघोषित नियम बने। व्यक्तिपिच्छे ट्वाइलेट वा धाराको अपेक्षा हुन थाल्यो। उपचारका अत्यावश्यकीय औजारको पुनः प्रयोगमा आशंका व्यक्त गरियो। हामीले चाहेको त निश्चित शारीरिक दूरी कायम गर्ने कुरा बढी महत्वपूर्ण थियो होला न कि सामग्री वा सेवा नै फरक-फरक।

मानिस-मानिसबीच विचार, भावना र प्रार्थनामा एकाकार भएर पनि भौतिक वा शारीरिक रुपमा उचित दूरी कायम गर्न सिक्ने वा सिकाउन सकेको भए कोभिड र यसपछि आउन सक्ने जनस्वास्थ्यका अन्य संभाव्य खतराहरुसँग जुध्न पनि बल पुग्ने थियो।

कोभिड संक्रमित वा प्रभावितप्रति समाजमा भेदभाव वा दुर्व्यवहार बढ्नुको एक कारण पनि यही भाषाको दुरुपयोग हो। पक्कै पनि उच्च संक्रामक भाइरसका कारण निश्चित भौतिक दूरी कायम गर्नैपर्ने अवस्था आएको हो। यस अवस्थामा मानिसहरुलाई सामाजिक सञ्जाल वा अन्य विधिबाट एक अर्काको नजिक ल्याउने, गाह्रो साह्रोमा मद्दत गर्नुपर्ने चेतना आउन निकै ढिला भयो।

कैयौं परिवार र व्यक्तिहरु मानसिक रुपमा विक्षिप्त भए, कतिले आत्मघात गरे। यो अवस्था आउनुमा औपनिवेशिक मानसिकताले सिर्जना गरेको भाषिक त्रुटी पनि जिम्मेवार छ। एउटा समस्याको निदानको नाममा अर्को समस्या सिर्जना गर्ने भुल गरियो।

अन्त्यमा, कोभिडलगायत कतिपय संक्रामक रोगहरुबाट बच्न भौतिक दूरी कायम गर्नुपर्दछ। भौतिक दूरी कायम गर्ने कुरा पूर्वीय सभ्यता पनि हो। पछिल्लो समयमा आएको शैक्षिक (आर्थिक, सांस्कृतिक) औपनिवेशिक मानसिकताको कारण भौतिक दूरीलाई सामाजिक दूरीको रुपमा परिभाषित गरियो। जुन बेलामा मानिसलाई सहयोग र सद्भावको बढी आवश्यकता पर्दथ्यो त्यसबेलामा एक्लो पार्ने, मानसिक रुपमा उत्पीडन गराउने गतिविधिहरु भए। यसले गम्भीर संक्रामक रोगको व्यवस्थापन र रोगथामका प्रयासहरु कमजोरमात्र पारेन प्रत्यूत्पादक भयो। कोभिडविरुद्धको लडाइँमा सिकेको पाठ अब आइन्दा नदोहोरियोस्।

(पौडेल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको जनस्वास्थ्य संकायमा कार्यरत छन्।)

Check Also

design of pm(1)

नेकपा विवादका १५ महिना :ओली अडानले पार्टी जोगियो

चेतन अधिकारी १६ जेठ ,२०७६ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको सपथ ग्रहण कार्यक्रममा …