Sunday , November 29 2020
ishwar_pokhrel_6DERBdseFi

काठमाडौंमा पूर्वएमालेको भेला, जबजको पक्षमा जुट्न ईश्वर पोखरेलको निर्देशन

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुबी विवादले उग्र रुप लिइरहँदा पूर्व एमाले र पूर्व माओवादीले अलग अलग भेला गर्न थालेका छन्। शीर्ष नेताहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको विवादले पार्टी फुटको दिशामा गइरहँदा पूर्व पार्टीका नेता कार्यकर्ताबीच अलग अलग भेला हुन थालेको हो।

शनिबार उपप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य ईश्वर पोखरेलले पूर्व एमालेको एउटा अनौपचारिक भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गरेका छन्। शहरी विकासमन्त्री कृष्ण गोपाल श्रेष्ठ तथा बागमती प्रदेशका केही मन्त्री र काठमाडौंका नेता कार्यकर्ता सहभागी उक्त भेलामा पार्टी गम्भीर संकटमा गएकाले आवश्यक रणनीति बनाएर अघि बढ्न छलफल भएको स्रोतले जनाएको छ।

उक्त अनौपचारिक भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले तल्लो तहका पार्टी कमिटीका काम रोक्न नहुने बताएका थिए। उनले माथि विवाद भइरहेकाले तल अलमल हुनु स्वभाविक भन्दै पार्टीलाई क्रियाशील बनाइरहन सक्रियता आवश्यक रहेको औँल्याएका थिए। नेकपा काठमाडौं जिल्ला कमिटी अध्यक्ष कृष्ण राईले उक्त अनौपचारिक भेलामा उपप्रधामन्त्री पोखरेलले पार्टीमा गम्भीर संकट देखिए पनि ग्राउन्डमा राजनीतिक क्रियाकलाप अघि बढाइरहन निर्देशन दिएको बताए।

पोखरेलले पार्टी कार्यकर्ताहरुला जनताको बहुदलीय जनवादको पक्षमा बोल्न पनि आग्रह गरेका थिए। ‘ईश्वर पोखरेलले जबजको पक्षमा उभिन अनौपचारिक भेलामा सहभागीलाई आग्रह गर्नुभएको थियो’, अध्यक्ष राईले भने, ‘जबजलाई केन्द्र मानेर काम गर्न भन्नुभएको छ। पार्टी एकतामा आँच आउने काम नगर्न पनि उहाँले निर्देशन दिनुभएको थियो।’

उक्त भेलामा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरहरु भने सहभागी नभएको बताइएको छ। केही दिनअघि मात्रै प्रधामन्त्री ओलीले आफूलाई घेराबन्दी गरिएको बताउँदै तयारी अवस्थामा रहन प्रदेश एकका नेता कार्यकर्तालाई भर्चुअल बैठकमा निर्देशन दिएका थिए। त्यो कुराको अध्यक्ष दाहालले कडा आपत्ति प्रकट गरेका थिए।

Check Also

sachibalaya asar 6-2(1)

जालझेल र तिकड्म गरेर पार्टी बच्दैन : अध्यक्ष ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेर मात्रै पार्टी बचाउन सकिने बताएका छन्। सचिवालयको बैठकमा …