Saturday , April 17 2021
binaye-1

विनयजंगविरुद्ध साइबर अपराधको मुद्दा

काठमाडौं: बेवारिसे शव जलाएर चर्चामा आएकी युवती सपना रोका मगरलाई धम्की दिएको आरोपमा पक्राउ परेका विनयजंग बस्नेतविरुद्ध साइबर अपराधको मुद्दामा कारबाही प्रक्रिया अघि बढेको छ ।

विद्युतीय माध्यमको प्रयोगबाट सपनाको गोप्य तस्वीर राखेको पाइएपछि बस्नेतविरुद्ध विद्युतीय कारोबार ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको हो । काठमाडौं प्रहरी परिसर, टेकुका एक अनुसन्धान अधिकृतका अनुसार विनयजंगको मोबाइलमा सपनाको केही गोप्य तस्वीरहरु भेटिएका छन् । यद्यपि, त्यो तस्वीर कसरी आयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ । त्यसका लागि प्रहरीले विनयको मोबाइल प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको डिजिटल फरेन्सिक ल्याबमा पनि पठाएको छ ।

यसअघि उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान भएको थियो । बीबीसीले सार्वजनिक गरेको सन् २०२० को १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले बस्नेतविरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी थिइन् । त्यही जाहेरीका आधारमा प्रहरीले काठमाडौंको गोंगबुस्थित बसपार्कबाट उनलाई ४ फागुनमा पक्राउ गरेको थियो ।

बस्नेतले केही युट्युब च्यालनमा अन्तर्वार्ता दिँदै ‘मेरो मोबाइलमा सपनाका नग्न तस्वीरहरू छन्, सार्वजनिक गरिदिऊँ’ भन्दै धम्की दिएका थिए । बस्नेत र सपनाले एकअर्कालाई बाबु-छोरीका रुपमा चिनाउँदै आएका थिए र, काठमाडौंमा बेवारिसे शव जलाउने काम गर्थे ।

तर सपना विश्वकै १०० प्रभावशाली महिलाको सूचीमा परेपछि भने उनीहरुबीचको सम्बन्धमा फाटो आएको थियो । सपनाले अहिले आफ्नै अगुवाइमा छुट्टै संस्था समेत दर्ता गरेकी छन् ।

Check Also

20210815938_bf1kxuow6jsa6iulyrwj

विस्थापित हुँदै हात्ती

चितवन: जङ्गल सफारीका लागि परिचित चितवनमा पर्यटक घुमाउनका लागि राखिएका निजी हात्ती विस्थापित हुन थालेका …