Sunday , November 29 2020

दैलेखमा आत्महत्याकाे घटना बढ्दो

दैलेख : नौमूले गाउँपालिका–८, चौराठाकी ३५ वर्षीया कमला बिकले माघ १ गते घरभित्रै सलको पासो लगाएर आत्महत्या गर्नुभयो । उहाँका श्रीमान् लक्ष्मण बिक कतारमा तीन वर्षको बसाईपछि फागुनमा घर आउने सल्लाह थियो ।  कमलाले आत्महत्या गरेको खबर सुनेर लक्ष्मण हतारमै घर आउँदैहुनुहुन्छ ।

पूर्वी दैलेखमा भएकोजस्तै आत्महत्या पश्चिमको आठबीस नगरपालिका–१ सुकीपिउलीमा पनि त्यसैदिन अर्को आत्महत्या भयो । त्यहाँकी २८ वर्षीया रीमा नेपालीले सामान्य घरायसी विवादमा घर नजिकैको धाइडाको रुखमा सलकै पासो लगाएर आफैले ज्यान फाल्नुभयो ।

रीमाको श्रीमान पदालालले ब्रोइलरको मासु ल्याएपछि विवाद सुरु भएको हो । ‘ब्रोइलरको मासु मैले खाँदिन भन्ने थाहा पाईपाई किन ल्याएको ?’ भनी रीमाले प्रतिक्रिया जनाएपछि दुवै उठेर हिंडे । त्यसको केहीबेरपछि रीमाले पासो लगाउनुभयो । पछि उहाँले पासो लगाएर खुट्टा छट्पटाएको देखेर छिमेकीले जोगाउन डोरी काटे पनि उहाँ बाँच्नुभएन ।

भारत जान भनी घरभन्दा केही पर पुगेको बेला घर नजिकै धेरै हल्ला सुनेपछि फेरि फर्किएका पदमलाल छिमेकीले पासो काटेर पानी खुवाउन लाग्दासम्म त्यहीँ उभिएर हेर्नुभयो, अनि रीमाको प्राण गयो भन्ने निश्चित भएपछि त्यतिबेलै फरार भएको बताइएको छ ।

यी दुई घटनामा चौराठाका लक्ष्मण बिक घर आउँदैहुनुहुन्छ, पदमलाल घर छोडेर भाग्नुभयो । उहाँहरुका श्रीमतीहरु चिनजान वा सरसल्लाह भएर एकै दिन ‘यस्तै गर्ने’ भन्ने सल्लाह गरेका होइन, उहाँहरु एकै दिन मर्नु संयोग मात्र हो ।

रीमा र कमलाले आत्महत्या गरेकै दिन संयाेगवश २२ दिनदेखि हराएका गुराँस गाउँपालिका–२ लमतुरीका १३ वर्षीय अविनास रावलले पनि प्लाष्टिकको डोरीले पासो लगाएर बेलको रुखमा झुण्डिएको अवस्था फेला पर्नुभयो । यी तीन वटै घटना एकैदिन हुनुले दैलेखमा आत्महत्या कति विकराल बन्दैछ भन्ने पुष्टि गर्दछ ।

सामान्य समस्यामा पनि धैर्य गर्न नसक्ने र सजिलै आत्महत्या गर्ने प्रचलन दैलेखमा बढी मात्रामा देखिएको दैलेखका प्रहरी प्रमुख डीएसपी ठाकुरप्रसाद पोखरेलको टिप्पणी छ । बर्सेनि आत्महत्याको श्रृंखला बढ्दै गरेको पाइएको छ ।

यस्ताे छ तथ्यांक

जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार आत्महत्या गर्नेको संख्या आर्थिक वर्ष ०७२-०७३ मा ३२ जना, ०७३-०७४ मा ३५ जना र ०७४-०७५ मा ३८ पुगेको छ । प्राप्त तथ्यांक अनुसार चालु आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्तसम्म १६ जनाले आत्महत्या गरेका छन् ।

आत्महत्याका घटनाका प्रकृतिलाई केलाउँदा केही थोरै जनाले बिष सेवन र धेरैले झुण्डिएर आत्महत्या गरेको देखिन्छ । तथ्यांक केलाउँदै जाँदा पछिल्लो साढे ३ वर्षमा १ सय ७७ जना महिला र २५ जना पुरुष समेत जम्मा २ सय १२ जनाले जिल्लामा आत्महत्या गरेका छन् ।

जबकि यो अवधिमा व्यक्ति हत्याका घटना जम्मा २१ मात्र छन् । हत्याभन्दा आत्महत्या दश गुणा बढी भएको तथ्यांकले जनाएको छ ।

प्रतिकात्मक तस्बिरप्रतिकात्मक तस्बिर

आत्महत्या गर्नेहरुमध्ये घरायसी खटपट, पारिवारिक कलह, गरिबी, अशिक्षा, परीक्षामा असफलता, सञ्चार साधनको दुरुपयोगले सामाजिक मर्यादा खलल् ठानिने स्वछन्द व्यवहार, शंका गर्ने र लान्छना लगाउने सामाजिक परिपाटीले ससाना समस्यकै कारण पनि आत्महत्याका घटना भएको देखिएको छ ।

आफैले क्षणिक आवेगमा अकस्मात आत्महत्या गर्नेहरुको उमेर समूहलाई केलाउँदा धेरैजसो १४ देखि २९ वर्षका उमेर समूहका बढी मात्रामा छन् ।
किशोरावस्थामा असीमित आकांक्षा पूरा नभएका, पारिवारिक असमझदारी र त्यसको उचित व्यवस्थापन गर्न नसकेका कारण आत्महत्याको निर्णयमा पुगेको घटनाक्रमले जनाएको छ ।

देशभर नै व्यक्ति हत्याका अपराधका घटनाभन्दा आत्महत्या संख्या धेरै भएकै कारण राष्ट्रिय मानवअधिकार आयोगले २ वर्षअघि विस्तृत अध्ययन, अनुसन्धान गरेर आत्महत्यालाई गम्भीर समस्याका रुमा लिनुपर्ने सरकारको ध्यानाकर्षण गराएको थियो ।

नयाँ मुलुकी अपराध संहितामा व्यवस्था 

पहिले भवितव्य ज्यानमा गणना गरिने आत्महत्या घटना ०७५ भदौ १ गतेदेखि लागू भएको ‘मुलुकी अपराध (सहिंता) ऐन २०७४’ले ज्यान सम्बन्धी कसूरमा राखेको छ ।

कसैले आत्महत्या गर्न बाध्य हुनेगरी दुरुत्साहन गरेको अवस्थामा ५ वर्षसम्म कैद वा ५० हजार रुपैंयाँसम्म जरिवाना हुने ‘मुलुकी अपराध (सहिंता) ऐन २०७४’को दफा १८५ मा व्याख्या गरिएको छ ।

दुई वर्षअघि सुर्खेतमा बजारबाट बिष किनेर श्रीमतीलाई खान दिएर उनको ज्यान गएको घटना बिष सेवन गरी आत्महत्या भएको भनी प्रहरीले भवितव्यमा राख्यो । त्यसैगरी सात वर्ष अघि बुटवलमा घरमा परपुरुष ल्याई बसालेको भनी स्थानीय महिला समूहले आरोपित महिलालाई कालो मोसो दलेपछि ती महिलाले अपमान बोध गरी झुण्डिएर आत्महत्या गरेको घटना पनि भवितव्य ज्यान गएकोमा देखाइयो ।

यस्तै जटिल प्रकृतिका घटनाहरुको श्रृंखला बढेपछि राष्ट्रिय मानवअधिकार आयोगले आत्महत्यालाई गम्भीर समस्याको रुपमा लिनुपर्ने भनी पटकपटक सरोकारवालाहरुसँग छलफल चलाएको कारण दुरुत्साहन गरेको अवस्थामा ज्यानसम्बन्धी कसूर लाग्ने गरी कानूनमा समेटिएको आयोगका उपनिर्देशक सरिता ज्ञवालीको दाबी छ । उहाँले भन्नुभयाे, ‘आयोगले अगुवाइ गर्‍यो, अरुको पनि साथ पायौं ।’

आत्महत्या गर्न दुरुत्साहन गर्नेहरुलाई कानूनी कारबाही गरे समस्या न्यूनीकरण हुने विश्वास गरेको प्रहरीले दैलेखको सुकीपिउलीकी रीमा नेपाली आत्महत्या घटनाको प्रकृति र उनका श्रीमान भागेको कारण दुरुत्साहन मुद्दा चलाउनेतर्फ अनुसन्धान केन्द्रित गरेको छ ।

अनुसन्धान अनुसार नै मुद्दा चल्यो भने आत्महत्या दुरुत्साहन अभियोगसम्बन्धी नेपालमै यो पहिलो प्रयोग हुनेछ ।

बढ्दो सहरी विकाससँगै भौतिक सुविधा उपभोग गर्न खोज्ने चाहनाहरु, गरिबहरुको जीवनस्तर उठ्न नसकेको र पारिवारिक सरसल्लाह वा समस्याका विषयमा छलफल हुने क्रम टुटेका कारण ससाना समस्यामा पनि आत्महत्या गरिहाल्ने प्रचलन बढेको नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति खेमराज केसीको भनाइ छ ।

के भन्छन् मनाेविद्हरु ?

लामो समयदेखि अभिव्यक्त नगरिएको तनावको कारण थाहै नपाइ पींडितले आत्महत्या गर्ने अवस्थामा पुग्दछन् तर उनीहरुले आत्महत्या गर्ने संकेत भने जनाएका हुन्छन् ।

त्यस्ता व्यक्तिहरुले मर्न मन लागेको कुरा गरेको बेला सुन्ने मान्छेले सामान्य रुपमा लिन्छन् अनि मनमा पीडा गुम्सााएर बसेकाहरुले धैर्यता तोडेर आत्महत्या गर्ने अन्तिम निर्णय लिन्छन् भन्ने मनोविश्लेषकहरुको धारणा छ ।

प्रतिकात्मक तस्बिरप्रतिकात्मक तस्बिर

त्यस्तो संकेत देखिएका व्यक्तिहरुलाई एक्लै नछोड्ने, मनोरञ्जनमा सहभागी गराउने, मर्न मन लागेको कुरा गरेको बेला सकारात्मक कुरा बताउने गरिदिँदा साथी संगाती र छरछिमेकीले पनि आत्महत्या गर्ने सोचाईं बनाएकाहरुलाई आत्महत्या गर्नबाट बचाउन सकिने महिला तथा बालबालिका सेवा केन्द्रका मनोविमर्शकर्ता निर्मला बीसीको सल्लाह छ ।

कसैले नबोलेको कुरा कानमा गुञ्जिने गम्भीर मानसिक समस्या ‘सिजोफ्रेनिया’, कुनै बेला बोल्दै–नबोल्ने वा कुनै बेला चाहिं बोलेको–बोल्यै गर्ने ‘मेनिया’ वा अनौठा समस्या देखिएको बेला मनोचिकित्सक उपचार जरुरी हुन्छ ।

मनोचिकित्सकको सल्लाहमा औषधिको मात्रा पूरा गरेमा त्यस्तो व्यक्ति निको हुने संभावना हुन्छ ।

पहिले सरसफाइलाई वेवास्ता गर्ने तर अकस्मात सफा कपडा लगाएर हाँसीखुशी हुने वा सधैं खुशी रहने व्यक्ति अप्रत्यासित रुपमा दुःखी वा खिन्न देखिने दुई ध्रुवीय ‘बाइपोलार डिप्रेसन’को संकेत देखिएको व्यक्तिले आत्महत्या गर्न सक्ने बढी सम्भावना हुने भएकोले उनीहरुप्रति ध्यान दिनुपर्ने मनोविद् बिनोद पौडेलले सुझाउनुुभयो ।

Check Also

Nabin_Budhathoki_MnkQ4CprKd

कोरोनाबाट सशस्त्र प्रहरीका इन्सपेक्टर बुढाथोकी र पूर्वगाविस अध्यक्ष वान्तवा राईको निधन

काठमाडौं : कोरोना संक्रमणका कारण सशस्त्र प्रहरी बलका निरीक्षक (इन्सपेक्टर ) नवीन बुढाथोकीको निधन भएको …